दाङका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द 

तुलसीपुर, २७ भदौ ।  दाङका विद्यालयहरू अनिश्चित कालका लागि बन्द हुने भएका छन् । जेनजीको आन्दोलनका कारण सुरक्षा तरलताका कारण विद्यालय अनिश्चितकालसम्म बन्द हुने भएका हुन् । विषमपरिस्थीतका कारण निषेधाज्ञा र कर्फ्यू जारी भएकाले विद्यालय कहिले खुल्छ भन्ने कुराको अहिले नै भन्न सकिने अवस्था नरहेको दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो ।

“आज दिनभरी निषेधाज्ञा गरियो । मानिसहरूको चहलपहल पनि भयो । उपभोग्य सामानहरू पनि मानिसहरूले किनमेल गरे । एकठाउँबाट अर्को ठाउँमा पनि मानिसहरु गए । तर सुरक्षा जोखिम बढ्न थालेकाले कर्फ्यू लागु गर्ने पर्ने अवस्था आयो । त्यसैले अहिले केहीपनि भन्न सकिने अवस्थामा छैनौ ।” अर्यालले भन्नुभयो ।

सरकारको टुङ्गो नलाग्दासम्म जनजीवन सहज नहुने भएकाले अर्को सूचना नआएसम्म तत्काललाई विद्यालय खुल्ने अवस्था नरहेको सुरक्षा समितिले बताएको छ । नेपालमा प्रतिबन्ध गरिएको सामाजिक संजाल र भ्रष्टाचारका विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा भदौ २३ गते १९ जना विद्यार्थीको ज्यान गएपछि दाङमा त्यसको विरोधमा २४ गतेदेखि विद्यालय बन्द छन् । 
 

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया