अन्तर्राष्ट्रिय साक्षरता दिवसः दिव्यकुञ्जका विद्यार्थीले गरे शैक्षिक सामाग्री दान

तुलसीपुर,२३ भदौ । ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज तुलसीपुर–७ मा रहेको दिव्यकुञ्ज एकाडेमीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक सामाग्री संकलन गरी दान छन् । तुलसीपुर– ६ मा अवस्थित नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित “मिसन एजुकेशन” अर्थात “शिक्षा अभियान” कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत झन्दै ८ सय बढी विद्यार्थी र शिक्षकहरुले कापी, कलम, पेन्सिल लगाएतका शैक्षिक सामाग्री संकलन गरेका छन् ।

नेपाल मानव धर्म सेवा समिति युवा संगठनद्वारा सञ्चालित “मिसन एजुकेशन” कार्यक्रमले सम्पन्न विद्यालयबाट शैक्षिक सामाग्रीहरु संकलन गरि विकट तथा दुरदराजमा अध्ययनरत गरिब तथा विपन्न बालवालिकाहरुलाई वितरण गर्दै आईरहेको छ । त्यसै अनुरुप आज “अन्तर्राष्ट्रिय साक्षरता दिवस” को अवसर पारी दिव्यकुञ्ज एकाडेमीमा शैक्षिक कामग्री संकलन कार्यक्रम गरिएको र संकलन भएको शैक्षिक सामाग्री छिटै नै गरिब तथा विपन्न बालवालिकाहरुलाई वितरण गर्ने कार्यक्रम भएको नेपाल मानव धर्म सेवा समितिका युवा संगठन संयोजक सुर्य थापाले वताउनुभयो ।

सो अवसरमा वोल्दै विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीले सेवा भाव, दान गर्ने वानीले विद्यार्थी तथा बालवालिकाहरुमा संस्कारको विकास हुने भएकाले विद्यार्थीबाट संकलित शैक्षिक सामाग्री सही क्षेत्रमा वितरण हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।


सन् १९६५ मा युनेस्कोको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । यस दिवसमा विश्वभरका विद्यालय, समुदाय तथा शिक्षासँग सरोकार राख्ने संस्थाहरुले साक्षरताका लागि जागरण फैलाउन विविध कार्यक्रम गर्ने गर्दछन् । नेपालमा सूचना प्रविधिको पहुँच वृद्धि हुँदै जाँदा ‘डिजिटल युगमा साक्षरताको प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित यसवर्ष सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाएका छन् । नेपालमा ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श नाराका साथ विसं २०३१ देखि राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको थियो । विश्व शिक्षा मञ्च (डब्लुइएफ)ले सन् २००० मा सेनेगलमा गरेको सम्मेलनमा १६४ भन्दा बढी मुलुकले ‘सबैका लागि शिक्षा’ भन्ने प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता बमोजिम नेपाल सरकारले २०७१÷०७२ लाई निरक्षर उन्मूलन वर्ष घोषणा गरेको थियो ।

नेपालमा ९५ प्रतिशत भन्दा बढी साक्षरता भएका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिँदै आएको छ । औपचारिक रुपमा सिन्धुपाल्चोक र ललितपुरबाट सुरू भएको पूर्ण साक्षर अभियान अहिले कर्णाली प्रदेशको हुम्ला पुगेको छ । पूर्ण साक्षर घोषित हुनेमा चितवनलगायत ६७ जिल्ला पुगेका छन् भने अझै १० जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता प्रतिशत ७६.३ प्रतिशत पुगेको छ । २०६८ को जनगणनाअनुसार साक्षरता प्रतिशत ६५.९ रहेको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २३ गते सोमवार
प्रतिक्रिया