
दाङ, १२ भाद्र । नेपाल संस्कृत विश्वविधालयको आयोजनामा यही असोज २५ देखि २७ गतेसम्म बेलझुण्डीमा हुन थालेको “अन्तर्राष्ट्रिय योग सम्मेलन“ सफल पार्न व्यापक तयारी भैरहेको छ ।
सम्मेलनका उपसमितिहरूको बैठक बुधबार बेलझुण्डीमा बसेको छ । बैठकमा उपसमिति संयोजकहरूले हालसम्म भएका तयारीबारे जानकारी गराएका थिए । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनभर ५० देशका ५ हजार बढी मानिसहरूको सहभागिता हुंदैछ भने उदघाटनमा १० हजार बढी सहभागी हुंदैछन् ।
सम्मेलन उदघाटनका अवसरमा बिभिन्न सांस्कृतिक झांकीहरू प्रस्तुत गरिने छ । सम्मेलनमा बिभिन्न कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका क्रममा १ हजार जनाले सामूहिक योग गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक प्रा.डा. सुधन कुमार पौडेलले बताउनुभयो । बिश्वशान्ति र मानव कल्याणका लागि योग सम्पदाको पुनरुत्थान एवं विश्वव्यापीकरण गर्ने लक्ष्यका साथ योग सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो ।
सम्मेलनमा सहभागी हुने अतिथिहरूलाई निमन्त्रणा गर्ने र कार्यक्रमको रूपरेखा तयार पार्ने काम पूरा भएको सम्मेलनका अन्तराष्ट्रिय संयोजक भोलानाथ योगीले बताउनुभयो । सम्मेलन सम्पन्न गर्न पतन्जली योग समिति लगाएत बिभिन्न संघ संस्थाहरूले सहयोग गरिरहेका छन् । कार्यक्रमबारे जानकारी दिन यही भदौ १३ गते शुक्रबार दिउंसो १ बजे पतन्जली हल घोराहीमा पत्रकार सम्मेलन गर्ने निर्णय भएको प्रचारप्रसार उपसमिति संयोजक दुर्गालाल केसीले जानकारी दिनुभयो ।