
तुलसीपुर, ३ भदौ । ‘इगल खबर’ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा तुलसीपुर उपमहानगरपालिका–३, सातबासस्थित प्राथमिक विद्यालय कल्ले राम्रीकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका ३० जना विद्यार्थीहरूलाई निःशुल्क झोला, कापी, र पेन्सिल प्रदान गरिएको थियो ।
व्यक्तिगत तथा ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रको सहकार्यमा ३० हजार बराबरको सामग्री बितरण गरिएको इगल खबरका संचालक एचआर मगरले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सातबास जस्तो विकट क्षेत्रमा शैक्षिक सामग्री वितरण गर्नु सम्भावनाको खोजी गर्ने उदाहरणीय कार्य भएको बताउनुभयो । व्यवसायीहरूले कमाएको केही अंश सामाजिक कार्यमा लगाउनु कर्तव्य र जिम्मेवारी भएको बताउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेत, वडा सदस्य राजेन्द्र गुरुङले ‘इगल खबर’को यो पहलले विकट क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा टेवा पुग्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम प्रस्तोता शान्तराम सेञ्चुरीले गर्नुभएको थियो ।
विद्यालयमा ४१ जना विद्यार्थी भर्ना भए पनि ३० जना नियमित पढ्न आउने गरेको प्रधानाध्यापक टेकबहादुर गुरुङले बताउनुभयो । झोला, कापी, कलम र इलेजर पाएपछि ससाना बालबालिकाहरू खुशी भएका थिए ।
सोअवसरमा विद्यालयले शैक्षिक सामग्री उपलब्ध गराएकोमा धन्यवादसहित ग्लोबल ओरेन्ज नेपाल तुलसीपुर बिक्री केन्द्रका प्रमुख अस्मिता चौधरी र इगल खबरका संचालक तथा प्रवन्ध निर्देशक एचआर मगलाई प्रशं-सापत्र प्रदान गरेको थियो । एचआर मिडिया हाउस प्रालिद्धारा संचालित इगल खबरले ६ गते शनिबार तुलसीपुरमा दोस्रो वार्षिक उत्सव मनाउँदै छ ।