२०८३ साउन ८ गते शुक्रवार

बबई नदीले लगेका दुई सपना !

दाङ, ३० असार । दाङको तुलसीपुरबाट तीन मोटरसाइकलमा हिँडेका ६ जना किशोरहरूको योजना सामान्य थियो । पर्यटकीय क्षेत्र बबईको छहरा हेर्ने, रमाउने र नदिमा नुहाउने । उनीहरूको उमेर कलिलो थियो, मन उत्साहले भरिएको, र भविष्यका सपना विशाल थिए । तर, आजको दिन एकाएक दुःखान्तमा परिणत भयो । दुई जीवन, दुई सपना र दुई परिवारलाई सधैँका लागि रित्तो बनाएर । बबई नदी, जुन सदैव शान्त र सौन्दर्यपूर्ण देखिन्छ । योजना अनुसार युवाहरूले छहरा अवलोकन गरे, तस्बिरहरू लिए, हाँसो–ठट्टा गरे । त्यसपछि योजना थियो, नजिकै बगिरहेको बबई नदीमा पौडी खेल्ने । त्यही योजना उनीहरूको जीवनको अन्तिम योजना बन्यो ।

एक हिम्मत, अर्को प्रयास, तर…
सुरुमा तुलसीपुर– ७ निवासी १७ वर्षका विधान केसी नदिमा पसेर पौडी खेल्न थाले । लगत्तै उनलाई नदिले बगाउन थाल्यो । तत्कालै तुलसीपुर– ६ निवासी १८ वर्षका कुशल बुढामगर विधानलाई बचाउने आशामा नदिमा पसे । तर, नियति निर्दयी थियो । कुशल पनि पानीको चपेटामा परे । केही मिनेटभित्रै, दुवै किशोर आँखाबाट ओझेल परे । सँगै रमाइरहेका  दुई जना साथी आँखै अगाडि हेर्दा हेर्दै एक्कासि बेपत्ता भए । साथीहरू अलमल्ल परे । नदि बाहिर रहेका साथीहरू आत्तिए । उनीहरूले प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रहरी निरीक्षक खुमबहादुर खड्काको नेतृत्वमा खोजी कार्य सुरु भयो । स्थानीयको सहयोगमा घटनास्थल भन्दा ५० मिटर तल नदी किनारमै उनीहरूको शव भेटियो, सून्य बोलि, चुपचाप शरीर, तर हृदयविदारक सन्देश बोकेर ।
दुई जीवन, एउटै कथा
विधान र कुशल, दुवै गोर्खा बोर्डिङ स्कुल, तुलसीपुरका कक्षा १२ का विद्यार्थी थिए । उनीहरू पढाइमा मात्र होइन, व्यवहारमा पनि उदाहरणीय थिए । साथीहरूका अनुसार कुशल सहयोगी स्वभावका थिए । विधान शान्त स्वभावका, गहिरो सोच र चम्किलो हाँसो भएका युवा थिए । आज, ती हाँसो र सहयोगको कथा बबई नदीसँगै बगेर गएको छ । विद्यालयका कक्षाहरू खाली छन्, साथीहरूको मन रित्तो छ र अभिभावकहरूको आँसु रोकिएको छैन । अहिले दुबै जनाको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । 

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया