काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत सरकारको प्राथमिकता, उपलब्धि र भावी कार्यदिशाबारे धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिन थालेको उल्लेख गर्नुभएको छ। साथै, राष्ट्रिय गौरवका आयोजनाहरूको कामले गति लिएको तथा समयसीमा तोकेर काम गर्ने र नतिजामुखी अभ्यास सुरु भएको धारणा पनि उहाँले व्यक्त गर्नुभएको छ । ‘हामी सरकारमा आएको एक वर्ष पुग्दै छ, यस बिचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ, टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ’,ओलीले लेख्नु भएको छ ।
यस बिचमा नागरिकलाई सेवा प्रवाह गर्ने विषयमा धेरै काम भएका उहाँले उल्लेख गर्नु भएको छ । ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ’, उहाँले लेख्नु भएको छ ।
प्रधानमन्त्री ओलीले अझै गर्न बाँकी धेरै काम रहेका बताउँदै सरकारको ध्यान गर्न बाँकी काममा केन्द्रित रहेको उल्लेख गर्नु भएको छ । ’गर्नु पर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ’, ओलीले लेख्नु भएको छ । सन्देशको अन्त्यमा उहाँले सबैलाई नमन गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ।






