२०८३ असार १२ गते शुक्रवार

रविपछि शंकास्पद धन्दामा रास्वपाका कार्यवाहक सभापति भन्दै उजुरी

काठमाण्डौ, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल सञ्चालक रहेको सुमिरे टुर्स एण्ड ट्राभल्सको गतिविधिमाथि छानबिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै आएका सिन्धुलीका युवराज सफल (पौडेल)ले आज उजुरी दर्ता गराउनु भएको हो । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै सदन अवरुद्ध गरिरहँदा कार्यवाहक सभापति विरुद्ध उजुरी परेको छ ।

अर्यालको ट्राभल कम्पनीले नेपाली नागरिकलाई भिजिट भिसामा जापान, दुबई, थाइल्याण्ड लगायतका मुलुकमा पठाएको तथ्य खुलेको छ । प्रतिनिधिसभाको हिजोको बैठकमा अर्याल स्वयम्ले त्यसबारे स्वीकारे गर्नुभएको थियो । ‘सुमिरे टुर्स एन्ड ट्राभल्स मेरै कम्पनी हो, म यही देशमा केही गरेर खाने मान्छे हुँ, बदमासी गरेर खाएको छैन’, उहाँले भन्नुभयो, ‘मेरो कम्पनीबाट भिजिट भिसामा जापान मात्र होइन, संसारको अरु देश पनि गएका छन् । हामीले पैसा लिएका छौँ, तर फर्केका छैनन् भने प्रमाण पेश गर्न म चुनौती दिन्छु ।’

अर्यालले कानुनसम्मत तरिकाबाट भिजिट भिसामा नागरिकलाई विदेश पठाएको दावी गरिरहँदा अभियन्ता पौडेलले भने त्यसमा आशंका व्यक्त गर्दै छानबिन माग गर्नुभएको हो् । ‘उहाँको कम्पनीले के कति संख्यामा, के कस्तो प्रक्रिया पुरा गरेर, के कस्ता कागजात पेश गरेर भिजिट भिसामा नागरिकलाई पठाएको हो ? अनि को को व्यक्ति फर्किए ? भन्ने विवरणसमेत आवश्यक परेकाले छानबिन गर्न सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष यो निवेदन पेश गरेको छु’, उजुरीमा लेखिएको छ ।

अर्यालको कम्पनीले पनि सेटिङमा नागरिकलाई विदेश पुर्याएको उहाँको आशंका छ । उहाँको जिकीर छ, ‘भिजिट भिसामा विदेश जाने नागरिकले विमानस्थलको अध्यागमन कार्यालयमा सेटिङ मिलाएर मात्र जान पाउने र सोही अनुसार गइरहेको भन्ने प्रमाणसहितका विवरणहरु सार्वजनिक भएको हुँदा सुमिरे टुर्स एण्ड ट्राभल्सले पठाएका नागरिकहरु चाहिँ बिना सेटिङ सबै कागजत पुर्याएर विदेश गएका होलान् भन्न सक्ने अवस्था छैन ।’

सफलले भिजिट भिसा प्रकरणमा अर्याल र उनको कम्पनीको गतिविधिमाथि पनि छानबिन गर्न र दोषी ठहरिए हदैसम्मको कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । अर्यालको उक्त कम्पनीले नागरिकलाई भिजिट भिसामा विदेश पठाउँदा कति पैसा लिने गरेको छ ? भन्नेबारे बुझ्न आज जनआस्थाले ग्राहक बनेर सम्पर्क गरेको थियो । जवाफमा त्यहाँका कर्मचारीले ‘जापान जाने भए साढे दुई लाख’ बुझाउनुपर्ने बताए । सो रकम बुझाएपछि चार रात, पाँच दिनको जापान भ्रमण गर्न सकिने उहाँको भनाइ छ भन्दै जनआस्थाले खबर लेखेको छ ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया