
तुलसीपुर, २५ माघ । दाङको तुलसीपुरमा जारी प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेलमा आज तुलसीपुर ६ र ८ विच प्रतिष्पर्धा हुँदैछ । दाङ जिल्लामै सर्वाधिक पुरस्कार राशी सहित अरनिको मैदानमा जारी प्रथम अन्तर वडा कप रनिङ शिल्ड प्रतियोगिता २०८१ को फाइनल खेल आज शुक्रबार विहान ११ वजेदेखि हुने वडा नंबर ६ का अध्यक्ष तथा प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी (बर्षात)ले जानकारी दिनुभयो ।
१९ गतेदेखि सुरु भएको खेलको विभिन्न चरणमा प्रवेश गर्दै क्वाटर फाइलन, सेमिफाइलन राउण्ड हुँदै फाइनलमा २ वटा समुह प्रवेश गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब, तुलसीपुरको सहकार्यमा हुने प्रतियोगितामा तुलसीपुरका १९ वटा वडामध्ये १,२ र १३ नंबर बाहेकका १६ वटा वडाका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, चादीको कप, मेडल र प्रमाणपत्र राखिएको छ भने द्धितिय पुरस्कार १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । यसैगरी अन्य विभिन्न बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।।