छोटो समयमा धेरै विद्यार्थीको रोजाईमा पर्न सफल तुलसीपुर मेट्रो कलेज

तुलसीपुर, ८ माघ ।  लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले तुलसीपुर मेट्रो कलेजले छोटो समयमा ठुलो उपलब्धी हासिल गर्न सफल भएको बताउनुभएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाद्धारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय, तुलसीपुर मेट्रो कलेजको पाँचौ बार्षिकोत्सव तथा विज्ञान प्रदर्सन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री ढकालले मेट्रो कलेजले धेरै महत्वपुर्ण काम गरेको भन्दै यो पाँच बर्षको अवधीमा गर्न नसकेका बाकी काम आगामी दिनमा गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अध्ययनको बाहनामा विद्यार्थीहरु विदिशिने क्रम बढेको भन्दै उहाँले यसलाई रोक्न पनि विद्यार्थीहरुलाई जिवनउपयोगी प्राविधिक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

मेट्रो कलेजले गरिब, विपन्न र पछाडी पारिएका समुदायका बालबालिकाहरुलाई मध्यनजर गर्दै अगाडी बढ्ने काम गरेमा भविष्यमा त्यस्ता बालबालिकाहरुले आफ्नो परिवारलाई आर्थीक रुपमा सक्षम बनाउन सक्ने उहाँको भनाई छ । सो अवसरमा कलेज प्रमुख बसन्त आचार्यले कलेजको समग्र अवस्था र आगामी योजनाबारे जानकारी दिदै विद्यार्थीहरुलाई उद्यमसिलतामा जोड्दै अगाडी बढिरहेको बताउनुभयो । कम्तिमा पनि ब्याचलर पढ्ने एउटा विद्यार्थीले नेपालमै ४०/५० हजार रुपैयाँ कमाउन सक्ने अवस्था सृजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसका लागी मेट्रो कलेजले सक्दो प्रयास गरिरहेको उहाँको भनाई छ ।

सो अवसरमा पुर्व सांसद शंकर गिरी, पुर्व संविधानसभा सदस्य बुद्धीराम भण्डारी, नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उप-महानगरपालिकाकी उप–मेयर स्यानी चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, डा. किशोर खत्रीलगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले मेट्रो कलेजको स्थापना भएदेखी दाङका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा पढ्न बाहिर जानु पर्नु बाध्यताको अन्त्य भएको बताएका छन् । कलेज स्थापना गरेर मात्र नहुने भन्दै उनीहरुले यसको संरक्षण गर्नु सम्बन्धीत निकाय र अभिभावकको महत्वपूर्ण भुमिका हुनेमा जोड दिएका छन् । आमा–बुबाको सपना पुरा गर्नका लागी पनि मेहनत गरेर पढ्न र संस्कारी बन्न विद्यार्थीहरुलाई आग्रहसमेत गरेका छन् ।

कार्यक्रममा विभिन्न सांगेतिक प्रस्तुतीसमेत राखिएको थियो भने चर्चित गायक गोविन्द मधुर आचार्यलगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नुभएको थियो । सो अवसरमा रक्तदान कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । २०७५ सालमा स्थापना भई २२ जना विद्यार्थीबाट औपचारीक शिक्षा प्रदान गर्न थालेको मेट्रो कलेजमा अहिले दाङसहित बाजुरा, डोटी, जुम्ला, रसुवा, बारा लगायतका ३७ जिल्लाका हजारौ विद्यार्थीहरु अध्ययनरत छन् । तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काको अध्यक्षतामा भएको बार्षिकोत्सव तथा विज्ञान प्रदर्सन कार्यक्रमको सहजीकरण शुदासुमन ढकालले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया