बबई लिफ्टिङ खानेपानी आयोजनाको काम छिटो सक्न एमाले महासचिव पोखरेलको निर्माण व्यवसायीलाई आग्रह  

तलसीपुर २९ पुष ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले बबई लिफ्टिङ खानेपानी निर्माण कार्यलाई तत्काल सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आयोजना गरेको भेटघाटकार्यक्रममा महासचिव पोखरेलले बबई लिफ्टिङको काम सुस्त गतिमा अघि बढेको बताउँदै निर्माण व्यवसायीलाई सम्झौता अनुसार तोकिएको समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको हो । बबईको पानी लिफ्टिङ गरेर तुलसीपुर क्षेत्रमा वितरण गर्नका लागि भिमेश्वर ड्रिल एण्ड निर्माण सेवाले ठेक्का लिएको छ ।

‘दिनहुँजसो पानीको अत्याधिक माग बढेको छ । गर्मी सिजन पनि सुरु हुन थालेको छ । यस्तो अवस्थामा एकातिर पानीका मुहानहरू सुक्न थाल्ने र अर्को तर्फ पानीको माग धेरै हुन्छ । पानीको समस्या टार्नका लागि आयोजनाको काम समयमै सक्नुको विकल्प छैन ।’ महासचिव पोखरेलले भन्नुभयो ।
संस्थापक मुख्यमन्त्री समेत रहनु भएका पोखरेलले पानीको स्रोतलाई बचाई राख्न कृतिम जलाशयको आवश्यकता रहेको भन्दै त्यसका लागि उत्तरी बेल्टमा खोल्साखाल्सी खोज्न आग्रह गर्नुभयो । तुलसीपुर खानेपानी लगायत दाङको समग्र विकासका लागि आवश्यक पर्ने बजेट ल्याउन सक्ने वातावरण दाङले तयार पार्नुपर्ने महासचिव पोखरेल बताउनुभयो ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ६० प्रतिशत मात्रै पूरा भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव शेवक राम भण्डारीले जानकारी दिनुभयो । सचिव भण्डारीका अनुसार निर्माणको  करिब ६ महिना पछि धकलिने छ ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा तुलसीपुरमा पनि खानेपानी आयोजनाको काम भइरहेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि धिनेश्वर ड्रिल एण्ड निर्माण सेवा प्रालिसँग २०७९ असारमा ठेक्का सम्झौता गरेको थियो । २०८२ असार मसान्तसम्म सक्ने गरी ५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँमा खरिद सम्झौता भएको काम अहिले निर्माण व्यवसायीका कारण सुस्त भएको बताइएको छ । उक्त ठेक्कामा सरकारको ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ रुपैयाँ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ छ । उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको हो ।

नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् । भेटघाट कार्यक्रम खानेपानी संस्थाका यमकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  यसैबिच महासचिव पोखरेलले तुलसीपुरको गाइडर नजिकै रहेको नेपाल मानव सेवा आश्रममा पुगेर त्यहाँको वास्तविक अवस्थाको विषयमा जानकारी लिएको नेकपा एमाले दाङका सचिव श्याम डाँगीले तुलसीपुर खबरलाई जानकारी दिनुभयो । सचिव डाँगीका अनुसार महासचिव पोखरेल दाङमा अझै तीन दिन बस्नुहुनेछ । 

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया