काँग्रेस सभापति देउवाले भने ‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन’

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच असन्तुष्टि बढ्दै गइरहेको र सरकार हेरफेरको चर्चा चलिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले नै एमालेसँगको सम्बन्धविच्छेद गर्ने अवस्था आइनसकेको बताएका छन् ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा शनिबार आफू निकटका नेताहरूसँगको छलफलमा देउवाले यस्तो बताएका हुन् । एमालेसँगको सहकार्य कुनै पनि हालतमा नतोडिने बताउँदै उनले सरकारलाई समर्थन रहने जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने नेताहरूको जिज्ञासामा देउवाले झोक्किँदै भने, ‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नुस् । सरकार अहिले नै ढल्दैन ।’

देउवाले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिप्रति आफू इमानदार रहेको पनि स्पष्ट पारेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले सातबुँदे सहमतिविपरीत २०८७ सालमा संविधान संशोधन हुने टिप्पणी गरेका थिए । एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले राष्ट्रिय सभा र प्रतिनिधिसभामा दुईतिहाइ नपुग्ने भएकाले संविधान संशोधन २०८७ सालमा हुने बताएका थिए ।

सातबुँदे सहमतिमा संविधान संशोधनको विषय पनि छ । तर, सहमतिविपरीत ओलीले अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरूले नै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूले समेत सातबुँदे सहमतिविपरीत गएर ओलीले अभिव्यक्ति दिएको भन्दै गम्भीर आशंका व्यक्त गर्दै आएका छन् ।

तर, देउवाले भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले अहिले संशोधनका लागि गृहकार्य गरिने हो र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रस्ट पारेका थिए । ओलीले आफूले केन्द्रीय कमिटी बैठकमा बडो प्रस्टसँग कुरा राख्दा पनि आफ्नै नेताहरूले यो विषय बाहिर ल्याएकामा भने असन्तुष्टि पोख्ने गरेका छन् ।

अहिले ओली र देउवाबीच केही असमझदारी भएको भए पनि त्यसलाई छलफलकै माध्यमबाट टुंग्याउँदै अगाडि बढ्ने बताइएको छ ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिदेखि लिएर राजनीतिक दल विभाजनका लागि ल्याउन लागिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन खोजिएको खेलसहित अन्तर्राष्ट्रिय सम्बन्ध गिजोलिएको विषय, मुलुकको आर्थिक अवस्थालगायतका ’दयगतमा छलफल गर्दै सहमतिमा पुग्ने बताइन्छ ।

देशीविदेशी शक्तिले अहिलेको गठबन्धन टुटाउन खोजेको र नयाँ गठबन्धनको गृहकार्य गरे पनि तिनीहरू असफल भएका छन् । देउवाले ओली सरकारलाई नै निरन्तरता दिन खोजेको र त्यसपछि आफू सजिलैसँग प्रधानमन्त्री बन्न खोज्ने रणनीतिमा रहेका छन् ।

कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन गर्दै अगाडि बढ्ने र सहमतिअनुसार सरकारको नेतृत्व गर्न देउवाले पालो पर्खिएर बस्ने नेताहरू बताउँछन् । कांग्रेसकै केही नेताहरूले सरकारको आलोचना गरे पनि देउवा अहिले नै ओलीसँग सम्बन्ध बिगार्ने पक्षमा छैनन् । उनले आफू निकटका नेताहरूलाई पनि सहमति पालना गर्दै अगाडि बढ्ने बताउँदै अहिले नै सरकार नढल्ने जनाएका हुन् ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया