सञ्चार ऐनमा भएको त्रुटिलाई सच्याउँछौँ  : मुख्यमन्त्री आचार्य

दाङ, १९ पुष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संचार ऐनमा भएको त्रुटीलाई सच्याउने बताउनुभएको छ । हतारमा संचार ऐन ल्याउँदा केही त्रुटि भएकाले परिमार्जन गरेर त्यसलाई सच्याउने तयारीमा रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै  नेपाल पत्रकार महासंघमा नव निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश परिषद् सदस्यलाई  बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘संचार ऐनलाई संशोधन गरेर भएपनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ’उहाँले भन्नुभयो,‘प्रदेश सभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’  उत्तरदायी र व्यवसायिक पत्रकारितालाई जोड दिदैँ मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति, विसङ्गति अन्त्यका लागी स्वयंम पत्रकारीता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राख्नु भयो ।‘मर्यादित र व्यवसायीक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति, विसंगती भित्रिएका छन् । त्यसलाई निर्मुल पार्न जरुरी छ’ उहाँले भन्नुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य शरद अधिकारीले दाङमा राजधानी भएको महसुस संचार माध्यमले गर्न नपाएको टिप्पणी गर्नुभयो । राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेका संचार माध्यमहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै तीनलाई जोगाउनका लागि प्रदेश सरकारले महत्वपूर्ण पूर्ण भूमिका खेल्नुपर्ने सदस्य अधिकारीले बताउनुभयो । 

 सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख संगित बस्याल लगायतले उत्तरदायित्व सहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिनु भएको थियो । कार्यक्रमको सहजिकरण चौतारी दाङका सचिव किरण गौतमले गर्नु भएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार
प्रतिक्रिया