
काठमाण्डौ, ११ पौष । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । यस्तै स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । एमालेको हिजो बसेको सचिवालय बैठकले तीन जना नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएकोले पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको एमालेले जनाएको छ ।
यस्तै पाण्डे र तिम्सिनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गर्ने सचिवालय बैठकले निर्णय गरेको हो । तीनै जना नेताहरुले व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन पार्टीले दान लिएको विषयलाई लिएर आलोचना गरेका थिए । उनीहरुलाई कात्तिक ४ गते स्पष्टीकरण सोधिएको थियो ।।