दीपक ओली / धनगढी
प्रतिनिधिसभा निर्वाचनमा नेतृ आरजु राणा देउवालाई अन्तरघात गरेको आरोपमा नेपाली कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० कार्यकर्तामाथि कारबाही सिफारिस गरेको छ ।
गत निर्वाचनमा नेपाली कांग्रेसको पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारविरुद्ध प्रचार गरी हराउन भूमिका निर्वाह गरेको दाबीसहित केन्द्रीय कार्यालयमा कारबाही माग गरिएको हो ।
यो निर्वाचन क्षेत्रमा कांग्रेस सभापति शेबहादुर देउवाकी पत्नी आरजु लडेकी थिइन् । आरजु तत्कालीन एमाले उम्मेदवार नारदमुनि रानासँग झन्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन् ।
क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, नगर सचिव यज्ञराज उपाध्याय तथा निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरूको प्रतिवेदनका आधारमा पूर्वसांसद ओझासहित महासमिति सदस्य, जिल्ला सचिव, वडा सदस्य र साधारण सदस्यसमेत २० जनामाथि कारबाहीको सिफारिस गरिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
क्षेत्रीय समितिले महासमिति सदस्य आनन्दराज जोशी, जिल्ला सचिव पूर्ण कुँवर, धनगढी उपमहानगरपालिका–५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, क्षेत्रीय उपसभापति कुम्भराज गिरीमाथि कारबाहीको माग गरेको छ ।
त्यस्तै, नेपाल विद्यार्थी संघ सहमहामन्त्री प्रेमराज जोशी, धनगढी–७ का सभापति देवबहादुर सेठी, वडा १९ का सचिव गंगादत्त ओझा, वडा ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा १ का सदस्य सुवास चन्द, वडा १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुसाल, वडा १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्टमाथि कारबाहीको माग गरिएको छ ।
त्यस्तै, क्रियाशील सदस्य विनायक पनेरू, लोकराज अवस्थी, चन्द्रदेव जोशी, लक्ष्मी ओझा, खेम भट्ट र भूमिनन्द ओझामाथि पनि कारबाहीको माग गरिएको क्षेत्रीय सभापति खड्काको भनाइ छ ।राजधानीबाट
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।