दाङ,१० असाेज । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को २३ औं राष्ट्रिय सम्मेलन दाङको घोराहीमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशमा भैरहेको भ्रष्टाचार, अनियमितताको विरुद्ध विद्यार्थी सडकमा उत्रिनु पर्ने बेला आइसकेको बताउनु भएको छ ।
विद्यार्थी आन्दोलनले भर्खरै बङलादेशमा शासक लखेटेको उदाहरण दिदैँ केसीले देशमा सुशासन ल्याउने हो भने विद्यार्थी आन्दोलनमा उत्रिनु पर्नेमा जोड दिनुभयो । नेपालमा केही हुन्न भन्ने भास्य तयार गरेर जनतामा निराशा पैदा गरेको भन्दै केसीले देशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनु पर्ने बताउनु भयो ।
उहाँले सबै भन्दा पहिले प्रदेश संरचना खारेज गर्नुपर्ने र स्थानीय तहलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । असोज १२ गतेसम्म चल्ने सम्मेलनले ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । घोराहीको फन भ्यालीमा सुरु भएको सम्मलेनमा ६५ जिल्लाका ३०० प्रतिनिधि सहभागी छन् ।