तुलसीपुर, २० साउन । ज्ञान ज्योति कलेज तुलसीपुरमा ब्याचलर बिजनेस एडमिनिस्ट्रेसन (विविए) र कम्प्युटर साइन्स र इन्फरमेसन टेक्नोलोजी (विएससी.सीएसआइटी) मा पढाइ हुने भएको छ । सुदूर पश्चिमाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि पश्चिम दाङमा पहिलो पटक ज्ञानज्योति कलेजमा यी दुई वटा विषयमा पढाई हुने भएको हो । यी दुवै विषयमा पढ्नका लागि एसईईमा ‘सि’ ग्रेड अर्थात प्लसटु उत्तीर्ण गरेको हुनुपर्ने छ । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर कलेजले यस्तो जानकारी दिएको हो ।
कलेजका प्रिन्सिपल सुरेन्द्र जिसीले विएससी.सीएसआइटी र विविए पढ्ने विद्यार्थीले वेब डिजाइनर्स, प्रोजेक्ट म्यानेजरर्स, वेब डेभलपर्स, सप्टवर्यस इन्जिनियर्स, एप्लिकेसन डेभलपर्स त्यसैगरी बैकिंग, इन्सुरेन्स, फाइनान्सियल इन्स्टिच्युसन, ठूला व्यापारिक कम्पनीमा सजिलै रोजगार पाउने बताउनुभयो ।
‘‘आठ सेमेस्टरको चार वर्षे कोर्सको समयावधि रहेको उक्त विषयका लागि सम्बन्धन प्राप्त गर्न हामीले विगत १२ वर्ष देखि अनवरतरूपमा मेहेनत गरेको छौँ । यो कार्यक्रम तुलसीपुरका लागि नितान्त नौलो हो । यी विषयहरू पढ्नका लागि विगतमा धेरै विद्यार्थीहरू काठमाडौँ, बुटवल, घोराही लगायत देशका विभिन्न स्थानमा जाँदा सास्ती बेहोर्नु परेको थियो । यस वर्ष विद्यार्थीहरूले आफ्नै स्थानमा आफूले चाहेको विषय अध्ययन गर्न पाउने भएका छन् । अब यही ज्ञान ज्योति कलेजमै विद्यार्थीहरूको विविए र विएससी सिएस आइटी अध्ययन गर्ने सपना पुरा हुने भएको छ । कम लागतमा आफ्नै ठाउँमा बसेर यी विषयहरू अध्ययन गर्ने सपना पुरा हुने भएको छ ।’’ प्रिन्सिपल जिसीले भन्नुभयो ।
पछिल्लो समय यी विषयको अत्याधिक माग भएको कलेजले बताएको छ । सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले दाङमा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको ज्ञानज्योतिले समयानुकुल आफुलाई अघि बढाएकै कारण यस क्षेत्रमा सफलता प्राप्त गरेको बताउनुभयो ।
पश्चिम दाङमा पहिलोपटक नयाँ विषयको सम्बन्धन प्राप्त गरेर एक पटक फेरि हलचल मच्चाएको बताउँदै उक्त अवसरलाई उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा कलेजका भाइस प्रिन्सिपल मनोज केसीले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो भने पत्रकार सन्तोष केसीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । साे अवसरमा विज्ञान संकायमा उत्कृष्ट अंक ल्याउने ज्ञान ज्योतिका सुशील पराजुलीलाई सम्मान समेत गरिएकाे थियाे ।