
काठमाडौं,७ वैशाख । नेकपा एमालेले भोलिबाट ललितपुरको गोदावरीमा सुरू हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् । २०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने एमालेले जनाएको छ । बैठक दुई दिनसम्म चल्ने छ ।
प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार