
फागुन, १० सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्दै आएको छ । युवाहरुलाई सरकारी सेवामा प्रबेश गराउने उदेश्यले निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको हो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय किमुचौरमा हरेक दिन बिहान ७ बजे देखि ९ बजे सम्म भौतिक रुपमा र सोही समयमा अनलाइन मार्फत कक्षा लिन सकिन्छ । कक्षा सञ्चालन भैरहेको सेरोफेरोकाले भौतिक रुपमा तथा अन्यले एकल वा सामुहिक रुपमा अनलाइन मार्फत कक्षा लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो । लोक सेवा तथा शिक्षक सेवा आयोग कक्षामा हप्ता भरी पढेका बिषयलाई केन्द्रित बनाएर प्रत्येक शनिबार नमुना परिक्षा समेत गराइन्छ ।
गत बर्ष गाउँपालिकाले सञ्चालन गरेको कक्षा लिएका आधा दर्जन बढीले सफल्ता प्राप्त गरे पछि यस बर्ष पनि तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको भनाई छ । पढे लेखेका तर घरायसी कारण अन्यन्त्र गएर पढ्न नसक्ने युवाहरुको लागि कक्षा सञ्चालन गरिएको पुनले बताउनु भयो । उँहाले गाउँपालिकाको युवा लक्षित कार्यक्रमबाट सञ्चालन गएिको निःशुल्क कक्षामा सहभागि भएर सरकारी सेवामा प्रबेश गर्ने मार्ग प्रशस्त गर्न अनुरोध गर्नु भयो । यस बर्ष सञ्चालन गरिएको कक्षामा पढ्ने युवाहरुको उत्साहित रुपमा आकर्षण बढ्दो क्रममा रहेको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । पालिका भित्रका सबै माध्यमिक बिद्यालयमा सामुहिक रुपमा अनलाइन मार्फ तयारी कक्षा पढ्ने ब्यबस्था मिलाउन लागिएको भण्डारीको भनाई छ । लोक सेवा आयोग कक्षाको प्रशिक्षकमा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली र योजना तथा प्रशासन शाखा अधिकृत खगेन्द्र बहादुर शाही हुनुहुन्छ भने शिक्षक सेवा आयोग कक्षाको प्रशिक्षकमा शिक्षा शाखाका प्राबिधिक सहायक रमेश कुमार आचार्य हुनुहुन्छ ।।