
फागुन,४ सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा अतिथि कक्षा कार्यक्रम सुरु गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका र कालिका माध्यमिक विद्यालय कपुरकोटमा आइतबारबाट अतिथि कक्षाको सुरुवात गरिएको हो ।
पालिकाको ५ वटा माध्यमिक विद्यालयमा अतिथि कक्षा कार्यक्रम सञ्चालन गरिने छ । अतिथि कक्षा कार्यक्रममा बिभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिहरूले आफूले गरेका अनुभाव, सिकेका व्यवहारिक कुराहरूलाई अतिथि शिक्षकको रुपमा विद्यार्थीलाई प्रदान गर्ने छन् । अतिथि कक्षाको पहिलो कक्षा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले विद्यार्थीहरू कसरी प्रवेश गर्ने, सरकारी कर्मचारीका काम, कर्तव्य र अधिकार के हुन्छ भविष्यको करियर योजना कसरी बनाउने, सफल व्यक्ति कसरी बन्ने,लगायतका विषयमा आफ्नो अनुभव सहितको कक्षा लिनु भएको छ ।
जिल्लामै पहिलो पटक अतिथि कक्षाको सुरुवात गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पाठ्यक्रममा नसमेटिएका विषय बस्तुका बारेमा अतिथि शिक्षकले पढाउने बताउनु भयो । उँहाले अतिथि कक्षाको उद्देश्य विद्यार्थीको भविष्य निर्माणका लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नु रहेको बताउनु भयो ।
यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले अतिथि कक्षा विद्यार्थीहरूले वृहत ज्ञान प्राप्त गर्ने शैक्षिक जागरण रहेको बताउनु भयो । उहाँले अतिथि कक्षा कार्यक्रम सञ्चालनले विद्यार्थीहरूलाई बिभिन्न क्षेत्रमा पुग्नका लागि प्रेरणा दिने बताउनु भयो ।
अतिथि कक्षामा सार्वजनिक सेवा, सिप विकास, सामाजिक विकृति, बाल बिबाह, लागु औषध दुर्व्यसनी, पेशा व्यवसाय लागायतका २ दर्जन भन्दा बढि विषयमा प्रत्येक विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरूको लागि २४ वटा कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।।