सल्यानमा स्थानीय तहका कर्मचारीहरुले गरे पेन डाउन

सल्यान, १९ असोज । सल्यानका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज पेन डाउन गरेका छन् । संघीय निजामती बिधेयकका बिरोधमा सल्यानका १० वटै स्थानीय तहका कर्मचारीहरुले पेन डाउन गरेका हुन । स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको निर्णय अनुसार आज देखि लागु हुने गरी अत्यावश्यक सेवा बाहेका अन्य सबै सेवाहरु बन्द गरी अनिश्चितकालिन रुपमा पेन डाउन गरिएको संघर्ष समितिका कपुरकोट गाउँपालिकाका संयोजक रमेश कुमार आचार्यले जानकारी दिनु भयो । बिरोध प्रदर्शनका लागि काठ्माण्डौमा सञ्चालन भइरहेको दबाबमूलक कार्यक्रममा सहभागि हुन नसकेका स्थानीय तहका कर्मचारीहरुले आफु कार्यरत स्थानीय तहमा नारा सहितको कालो ब्यानरको साथमा धर्ना बसेर दबाब सिर्जना गरेको आचार्यको भनाई छ ।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिले जनाएको छ । उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाई छ । कर्मचारीहरुले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तिन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने लगायतका माग राखेका छन् । साथै कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तर प्रदेश सरुवा लागू गर्नु पर्ने माग राखेको स्थानीय तहका कर्मचारीहरुको भनाई छ ।

यस्तै कर्मचारी समायोजन ऐन अनुसार संघबाट समायोजन भएका,साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाइएका करिब ३५ हजार कर्मचारी स्थानीय सेवामा कार्यरत रहेका छन् ।।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया