काठमाण्डौ, ११ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमाथि परराष्ट्र नीति सञ्चालनबारे गम्भीर प्रश्नहरू उठेको टिप्पणी गर्नुभएको छ । आज सोमवार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ओलीले परराष्ट्र नीति र व्यवहारलाई लिएर सरकारको गतिविधिबारे गम्भीर प्रश्नहरू उठेको बताउनुभएको हो । उहाँले परराष्ट्र नीतिको मामिलामा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो । उहाँले सरकारको परराष्ट्र नीति र व्यवहारको तालमेल नभएको र अस्पष्टताबारे बजारमा गम्भीर प्रश्नहरू उठेको बताउनुभयो ।
सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भूगोलको रक्षा, भौगोलिक अखण्डता, राष्ट्रिय हितको सवालमा प्रश्न उठिरहेको उहाको भनाई छ । यस्ता आधारभूत सिद्धान्तहरूका प्रश्नमा राष्ट्रले एकजुट भएर पुनर्पुष्टि गर्नुपर्ने अवस्था आएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले परराष्ट्र नीतिमा एकरूपता ल्याउन र देशको हित हुने गरी त्यसको परिचालन गर्न संसदीय समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सबै दलको सहमतिमा परराष्ट्र नीति तय गरी त्यसको परिचालन गर्ने कुरामा संसदीय समितिले बहुतै उपयोगी काम गर्न सक्ने उहाँको भनाइ छ ।