तुलसीपुर, २५ मंसिर । नेपाल एयरलाइन्सले दाङको टरिगाउँ एयरपोर्टबाट पहिलो पटक हवाइ इन्धन भरेको छ । चौतर्फी दवावपछि एयरलाइन्सले बिहान पौने ११ बजे इन्धन भरेको इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको 9 NABT टूइन्टर जहाजले ४ सय ६० लिटर हवाइ इन्धन भरेको प्रमुख श्रेष्ठले बताउनुभयो । एयरपोर्टमा एलपीडी एभिएशन विभाग काठमाण्डौका क्वालिटी कन्ट्रोल सायक प्रबन्धक उपेन्द्र सुवेदी, लुम्बिनी प्रदेश प्रमुख जगदीश चन्द्र यादव र एयरलाइन्सका प्राविधिक सुरेश कुमार दासको टोलीले जहाजमा इन्धन भरेको हो ।
पहिलो पटक भएकाले जिल्ला बाहिरबाट प्राविधिकको टोली आए पनि आगामी दिनमा दिनहरूमा पाइलटको सहयोगमा निगमका कर्मचारीले इन्धन भर्न सक्ने छन् । यस अघि तीन पटकसम्म जहाजमा इन्धन भर्ने निगमको प्रयास असफल भएको थियो । एयरलाइन्सले इन्धन भर्न आनाकानी गरेपछि निगमले शनिबार अन्यत्र सार्ने चेतावनी दिएको थियो । करिब पाँच करोड लागतमा स्थापना भएको डिपोमा ४१ हजार लिटर इन्धन स्टोरेज गरेको ४ महिना बितिसकेको थियो ।
हवाइ इन्धन सञ्चालनमा आएसँगै अब जहाजलाई काठमाण्डौबाट इन्धन बोकेर दाङ आउनुपर्ने वाध्यता टरेको छ । एयरलाइन्सले दाङ आउँदा दुईजना यात्रु वस्ने सिटमा हवाइ इन्धन बोकेर ल्याउने गरेकाे थियाे। नेपाल एयरलाइन्सको १८ सिटे जहाजले दाङको टरिगाउँ एयरपोर्टबाट हिजोआज हप्तामा पाँच दिन उडान भर्दै आइरहेको छ । डिपो सञ्चालनमा आएपछि अन्य निजी कम्पनीका जहाज पनि सञ्चालनमा आउने र भाडा पनि घट्छकी भन्ने आशा दाङवासीमा पलाएको छ ।
यता नेपाल एयरलाइन्स दाङका प्रमुख महेन्द्र शर्माले तत्काललाई भाडा घट्ने सम्भावना कम रहेको बताउनुभएको छ । जहाज घाटामा सञ्चालनमा आइरहेकाले अहिले नै भाडा घट्छकी भन्नेमा आफू विश्वस्त नभएको शर्माले बताउनुभयो । दाङको तुलसीपुरबाट काठमाण्डौसम्मको भाडा न्यूनतम ८८१० रुपैयाँदेखि १२१७५ रुपैयाँ र काठमाण्डौबाट दाङका लागि न्यूनतम ९०१० रुपैयाँदेखि १२३७५ रुपैयाँ रहेको एयरलाइन्सले बताएको छ । २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टलाई सञ्चालनमा ल्याउन दाङवासीले उठाउँदै आएका दुईवटा मध्य एउटा माग इन्धन डिपोले पुरा गरेको छ । स्थानीयले ठूला जहाज बसाउनका लागि आवश्यक पर्ने १५ सय मिटरको धावनमार्ग विस्तार र इन्धन डिपोको मुद्दालाई वर्षौँदेखि उठाउँदै आएका थिए ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।