दाङ,१३ मंसिर । दाङको पर्यटकीय क्षेत्र छिल्लीकोट पुग्ने सडक स्तरोन्नति हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट पुग्ने विजौरी–स्यालापानी सडक सुधारका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । उक्त बजेटबाट सडक कटिङ, विस्तार र नाला निर्माण गरिनेछ । बजेट अपुग भएकाले तत्काल कालोपत्र भने नगरिने भएको छ ।
सडक साँघुरो र कच्ची हुँदा वर्षामा हिलाम्मे र अन्य समयमा धुलाम्मे हुने गरेको छ । दुईवटा गाडीसमेत सहजै आवतजावत गर्न नसक्ने सडकका कारण स्थानीय र पर्यटकले सास्ती भोग्दै आएका छन् । छिल्लीकोट पुग्न दूधरास–सङ्ग्राम र विजौरी–स्यालापानी गरी दुईवटा सडक रहे पनि दुवैको अवस्था सुधार हुन सकेको छैन । दूधरासको सडकमा सिमेन्ट उद्योगका ट्रक चल्ने र विजौरीको सडक साँघुरो तथा उकालो भएकाले आवतजावतमा समस्या हुने गरेको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको छिल्लीकोट समुद्री सतहदेखि करिब एक हजार ४२० मिटर उचाइमा छ । यहाँ प्राचीन दरबारका भग्नावशेष, कालिका र मालिका मन्दिर, होमस्टे तथा सञ्चालनमा आउन बाँकी जीपलाइन छन् । यहाँबाट दाङ उपत्यका र हिमशृङ्खलाको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । सडक स्तरोन्नतिसँगै पर्यटकको आवागमन बढ्ने र स्थानीयको आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।