काठमाडौं,१२ मंसिर। दोस्रो झापा महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
खेलको पहिलो हाफको ३०औँ मिनेटमा आर्मीकी बिमला चौधरीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । तर, दोस्रो हाफको ५९औँ मिनेटमा एपीएफकी रश्मि कुमारी घिसिङले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् ।
त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ एपीएफले आर्मीलाई ४–२ गोलले हराउँदै उपाधि जित्न सफल भयो । उपाधिसँगै एपीएफले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले पाँच लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।