२०८३ मङ्सिर ९ गते बुधवार

पत्रकारको सामूहिक गिरफ्तारी माग्दै जिल्ला प्रशासन दाङमा धर्ना

दाङ, ९ मंसीर । प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारमाथि भइरहेको धरपकडको विरोध गर्दै दाङ सहित देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत बुधबार नेपाल पत्रकार महासंघ दाङ शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घोराहीमा धर्ना दिएका हुन् । पत्रकारलाई सामूहिक गिरफ्तार गर भन्ने नारासहित गरिएको धर्नामा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

धर्नामा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर,पत्रकारमाथिको धरपकड बन्द गर,पत्रकारको श्रम अधिकार सुनिश्चित गर लगायतका माग लेखिएका ब्यानर सहित धर्ना कार्यक्रम गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभयो । उहाँले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने, पत्रकारलाई गिरफ्तार गर्ने र धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य तथा प्रेस स्वतन्त्रताविपरीत रहेको बताउनुभयो । साथै उहाले आमसञ्चारमाध्यम र पत्रकारमाथि हुने दमन तथा हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गर्नुभयो ।

पत्रकारका जायज माग सम्बोधन गर्नुको सट्टा सरकारले जबर्जस्ती कानुन लाद्न खोजे त्यसको सशक्त प्रतिवाद गर्ने उहाँको भनाइ थियो ।उहाँले प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षामाथि हुने हस्तक्षेप नरोकिए सरकारविरुद्ध थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । पत्रकारहरुले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि आफूहरुको आन्दोलन जारी रहने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।