भालुवाङ ९ मंसिर । लुम्बिनी प्रदेशमा आजदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा राप्ती उपत्यका देउखुरीमा आयोजित अभियानको शुभारम्भ तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षतामा भएको अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । हिंसाका घटनामा पीडितलाई दोषी ठहर गर्ने प्रवृत्तिको अन्त्य गर्दै उनीहरूको पहिचान, गोपनीयता र सम्मानको रक्षा गरी न्याय सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्रै पर्याप्त नभई प्रभावकारी कार्यान्वयन र सामाजिक व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैंगिक हिंसा मानव अधिकार, सामाजिक न्याय, समानता र सभ्य समाज निर्माणसँग जोडिएको विषय भएको उल्लेख गर्दै घरभित्र, सार्वजनिक स्थान, कार्यस्थल तथा सामाजिक सञ्जालमा हुने हिंसाका सबै स्वरूप अस्वीकार्य रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले शारीरिक हिंसासँगै मानसिक, आर्थिक, यौनजन्य, सामाजिक तथा प्रविधिको माध्यमबाट हुने हिंसाले पनि व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र सुरक्षित जीवनयापनको अधिकार कुण्ठित गर्ने भएकाले हिंसालाई पहिचान गर्ने, त्यसविरुद्ध आवाज उठाउने र पीडितलाई न्याय दिलाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सीप विकास, उद्यमशीलता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावितको संरक्षण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । १६ दिने अभियानलाई औपचारिक कार्यक्रममै सीमित नगरी वर्षभरि निरन्तर चल्ने सामाजिक जागरणका रूपमा अघि बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले देश व्यापी रूपमा शिक्षित जनशक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णाकुश्मा थारुले कानुन बनाउने व्यक्तिबाट कानुन मिचिरहेको बताउनुभयो । कानुन मिचेर जाँदा पिडितले न्याय पाउन नसक्ने हुँदा कानुन निर्माणकर्ताहरू अझ बढी जिम्मेवार बन्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढा र घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव सुशीला अर्यालले स्वागत तथा विषय प्रवेश गर्नुभएको थियो भने वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सहजीकरण गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।