काठमाडौं,६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३ ओभर ३ बलमै पूरा गर्यो।
सुदूरपश्चिमको ऐतिहासिक जितमा जर्ज मुन्सीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलको सामना गर्दै शतकीय इनिङ्स खेले। यस्तै, विनोद भण्डारीले २७ बलमा अविजित ३० रनको योगदान दिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० तथा निरोशन डिकवेलाले २८ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे। लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको सुदूरपश्चिमले यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। तेस्रो प्रयासमा भने सुदूरपश्चिमले उपाधि जित्दै पहिलो पटक एनपीएल च्याम्पियन बन्ने इतिहास रचेको छ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।