२०८३ भाद्र ३ गते बुधवार

प्रतिष्ठानमा पहिलोपटक अब मोबाइलबाटै ओपीडी टिकट लिन सकिने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि आउने बिरामीले अब घरमै बसेर मोबाइलबाटै ओपीडी टिकट लिन सक्ने भएका छन् । सुचना प्रबिधिलाई उपयोग गर्दै प्रतिष्ठानले पहिलोपटक यो कार्यको सुरुवात गरेको हो । प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले सरकारको सुसासनको अभियानलाई साथ दिदै सुचना प्रबिधिको युगलाई ब्यबहारमै लागु गरेर बिरामी मैत्री सेवा दिने संस्थाको प्रमुख उदेश्य रहेको बताउनु भयो ।

प्रतिष्ठानले बिरामीको सहजता, समय बचत तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन अनलाइनमार्फत ओपीडी टिकट लिन सकिने व्यवस्था सुरु गरेको हो। प्रतिष्ठानका अनुसार बिरामीले Google Play Store वा App Store बाट ‘Rapti Academy of Health’ वा ‘Mero Doctor’ एप डाउनलोड गरी मोबाइल नम्बर र पासवर्डमार्फत लगइन गर्न सक्नेछन्। एपमा प्राप्त हुने इत्ए कोड राखेर सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

अनलाइन प्रणालीमार्फत बिरामीले नियमित ओपीडी छनोट गरी आफूले उपचार गराउने सेवा तथा चिकित्सक र उपलब्ध समय छनोट गर्न सक्नेछन्। नयाँ बिरामीले आवश्यक विवरण भर्नुपर्नेछ भने पुराना बिरामीले आफ्नो कार्ड तथा विवरणअनुसार सेवा लिन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी, मोबाइल नम्बर र ओपीडी प्रयोग गरी बिरामीले आफ्नो विवरण सुरक्षित रूपमा प्रविष्ट गरेर आफूलाई आवश्यक सेवा र समय छनोट गरी ओपीडी टिकट लिन सक्नेछन्। यसबाट अस्पतालमा टिकट काट्नका लागि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता कम हुने प्रतिष्ठानका अस्पताल निर्देशक सह– प्राध्यापक डा. सुरेश रसाइलिले बताउनु भयो ।

प्रतिष्ठानले डिजिटल प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सेवा थप सहज, छिटो, सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले अनलाइन ओपीडी टिकटको व्यवस्था गरेको रसाइलिले बताउनु भयो । अब बिरामीले घरमै बसेर ओपीडी टिकट लिन सक्ने भएकाले समयको बचत हुनुका साथै अस्पतालमा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया