२०८३ साउन १९ गते मङ्गलवार

मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा छत्रेश्वरीको पहल, पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

सल्यान १९ साउन । छत्रेश्वरी गाउँपालिकाले मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय प्रारम्भिक परिचयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकी प्रमुख अतिथि तथा उपाध्यक्ष बुद्धकुमारी खत्री विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, स्वास्थ्य शाखा प्रमुख, इपिक नेपाल ९महामारी नियन्त्रणका लक्ष्य हासिल गरी त्यसलाई निरन्तर कायम राख्ने कार्यक्रम० का प्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।अभिमुखीकरणका क्रममा मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य एवं पोषणसँग सम्बन्धित कार्यक्रमहरूको उद्देश्य, कार्यान्वयन प्रक्रिया, सेवा प्रवाह, समन्वयको आवश्यकता तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी आदानप्रदान गरिएको थियो। साथै, कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन पालिका तथा वडा तहबीच समन्वय, सहकार्य र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो।

अमेरिकी सरकारको आर्थिक सहयोग, इपिक नेपाल, परिवार स्वास्थ्य अन्तर्राष्ट्रिय–३६० ९एफएचआई–३६०० को प्राविधिक सहकार्य तथा ग्रामीण विकास प्रयास नेपाल ९आरडीई नेपाल० र छत्रेश्वरी गाउँपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले पालिकाभित्र आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्थामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ।छत्रेश्वरी गाउँपालिकाले सुरक्षित मातृत्व, स्वस्थ नवजात शिशु, पोषित बालबालिका र स्वस्थ समुदाय निर्माणलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रमहरूलाई निरन्तर प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया