दाङ । दंगीशरण गाउँपालिका-२ कौवाघारी स्थित राजाकोट सामुदायिक वन क्षेत्रमा शनिबार ११ हजारभन्दा बढी स्थानीयको उल्लेखनीय सहभागितामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । एक दशकपछि यति ठूलो जनसहभागितासहित आयोजना गरिएको कार्यक्रमले वन संरक्षण र वातावरणीय सचेतनामा नयाँ ऊर्जा थपेको आयोजकले जनाएको छ । राजाकोट सामुदायिक वन उपभोक्ता समूह र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वन तथा कृषि सहज कार्यक्रम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङ, ग्रिन फाउन्डेसन नेपाल, डिभिजन वन कार्यालय दाङ, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुर तथा ज्ञानोदय इङ्गलिस बोर्डिङ स्कुलले सहकार्य गरेका थिए ।
कार्यक्रम राजाकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र मिलन विकको अध्यक्षतामा एमवम दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष घनश्याम पाण्डे, त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, तुलसीपुर उपमहानगरपालिका–११ का वडा अध्यक्ष मानबहादुर रावत, दंगीशरण–१ का वडा अध्यक्ष रमेश भण्डारी, दंगीशरण सब–डिभिजन वन कार्यालयका प्रमुख खिमबहादुर केसी, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका वरिष्ठ भू–संरक्षण अधिकृत राकेश शाही, दंगीशरण गाउँपालिका वन वातावरण समितिकी संयोजक मिना चौधरी, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका जिल्ला सहसचिव भूपबहादुर केसी लगायत नेपाल प्रहरी, विद्यार्थी, जनप्रतिनिधि, वनकर्मी, विभिन्न संघसंस्था, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमले वृक्षारोपणमा मात्र सीमित नभई सामुदायिक वनप्रतिको अपनत्व, संरक्षणको जिम्मेवारी र सामूहिक प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह र दिगो व्यवस्थापनमा सबै पक्षको निरन्तर सहकार्य रहने विश्वाससमेत व्यक्त गरिएको छ ।





