काठमाण्डौ, २६ असार । अमेरिका–इजरायलको संयुक्त आक्रमणमा ज्यान गुमाएका इरानका सर्वोच्च नेता अली खामेनीलाई मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थलमा दफन गरिएको छ । सरकारी सञ्चारमाध्यमहरूले शुक्रबार बिहान खामेनीलाई उहाको जन्मस्थान मशहदस्थित इमाम रेजाको दरगाहमा दफन गरिएको जनाएका छन् । विशाल सुनौलो गुम्बज र सुनले मढिएका मिनारहरूले सजिएको यो धार्मिक परिसर शिया मुस्लिमहरूको सबैभन्दा महत्वपूर्ण तीर्थस्थलमध्ये एक मानिन्छ ।
दफन प्रक्रिया निजी रूपमा सम्पन्न गरिएको भए पनि त्यसअघि एक सातासम्म सार्वजनिक श्रद्धाञ्जली र शवयात्राहरू आयोजना गरिएका थिए । ती कार्यक्रममा करिब एक करोड ५० लाखभन्दा बढी मानिस सहभागी भएको र इरानी अनुमानअनुसार भने यो संख्या तीन करोडभन्दा बढी हुन सक्ने बताइएको छ । तर अन्त्येष्टिका क्रममा खामेनीका छोरा तथा वर्तमान सर्वोच्च नेता मोज्तबा खामेनी भने सार्वजनिक रूपमा देखिएनन् । उनी फेब्रुअरी २८ मा तेहरानको केन्द्रमा रहेको खामेनीको निवासमा भएको अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि सार्वजनिक रूपमा नदेखिएको बताइएको छ । उक्त आक्रमणमा खामेनी मारिएका थिए । त्यसलाई अमेरिका–इजरायल तथा इरानबीचको युद्धको सुरुआतका रूपमा हेरिएको छ ।
खामेनीको अन्त्येष्टि सुरुमा मार्च महिनामै गर्ने योजना थियो । तर युद्धका कारण त्यो स्थगित गरिएको थियो ।सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम गत शनिबार तेहरानको ग्रान्ड मोसल्ला धार्मिक परिसरबाट सुरु भएको थियो । त्यहाँ खामेनीको शव राखिएको कफिन सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । कार्यक्रममा गाजास्थित हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह तथा यमनका हुथी समूहका प्रतिनिधिमण्डल पनि सहभागी भएका थिए । भोलिपल्ट त्यही मस्जिदमा अझ ठूलो भीड जम्मा भएको थियो ।सोमबार कम्तीमा एक करोड २० लाख मानिस तेहरानका सडकमा उत्रिएका थिए ।
खामेनीको कफिन ट्रकको पछाडि राखेर करिब १० किलोमिटर लामो शवयात्रा निकालिएको थियो, जुन इस्लामिक क्रान्ति -१९७९) यताकै सबैभन्दा ठूलो सार्वजनिक जमघट हुने स्थल आजादी स्क्वायरसम्म पुगेको थियो ।मंगलबार पवित्र सहर कोममा पनि हजारौं मानिसहरुले अर्को शवयात्रामा सहभागिता जनाएका थिए । त्यसपछि खामेनीको कफिन इराक लगिएको थियो । बुधबार नजफ—शिया इस्लामको तेस्रो सबैभन्दा पवित्र सहर र त्यसपछि कर्बलामा पनि शवयात्रा निकालिएको थियो ।






