काठमाडौं,२४ असार । अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी० का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर प्रान्तको खोरमुजमाथि उडिरहेको अमेरिकी एमक्यु-९ ड्रोनलाई खसालेको बताएका छन्। अमेरिकी सेनाको हवाई अतिक्रमणपछि त्यसको जबाफमा उक्त ड्रोनलाई निसाना बनाएर खसालिएको मोहबीले स्पष्ट पारेका छन्।
कुवेतमा साइरन, क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रतिकार
यसैबीच, यस युद्धको बाछिटा कुवेतसम्म पुगेको छ। कुवेती सेनाले आफूहरूमाथि भइरहेको ‘शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोन आक्रमण’ को प्रतिकार गरिरहेको जनाएको छ। कुवेतको सरकारी समाचार एजेन्सी कुनाका अनुसार देशभर हवाई आक्रमणको साइरन बजाइएको छ। सेनाले एक विज्ञप्ति जारी गर्दै देशभर सुनिएका विस्फोटका आवाजहरू ती क्षेप्यास्त्र र ड्रोनलाई आकाशमै नष्ट गर्दा आएको प्रस्ट पारेको छ। साथै, नागरिकहरूलाई शान्त रहन र अधिकारीहरूले दिएका सुरक्षा निर्देशनहरू पालना गर्न अपिल गरिएको छ।






