काठमाण्डौ, १४ असार । भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ। आइतबारसम्म यो संख्या ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन्।यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ।
तर उद्धार तथा राहतमा सरकारको तयारी र सक्रियता कमजोर रहेको आरोप लगाउँदै स्थानीयवासीहरू आक्रोशित बनेका छन्। सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार पर्याप्त रूपमा परिचालित हुन नसकेको भन्दै प्रभावितहरूले सरकारको आलोचना गरेका छन्।






