तुलसीपुर, ९ असार । तुलसीपुरमा आयोजना गरिएको आँखा जाँच स्वास्थ्य शिविरमा झन्डै डेढ सय यातायात मजदुरहरुको आँखा जाँच गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औँ स्थापना दिवसको अवसरमा संगठनको जिल्ला कमिटि दाङको आयोजना र राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा आज विहान तुलसीपुरको बसपार्कमा संचालन गरिएको निशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा १२८ जना यातायात मजदुरहरुको आँखा जाँच गरिएको संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र वलीले जानकारी दिनुभयो । शिविरमा चालक, सहचालक, परिचालक तथा यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूले आँखा स्वास्थ्य परिक्षण गराएका थिए ।
साथै शिविरमा आँखा स्वास्थ्य परिक्षणका क्रममा दृष्टि समस्याका कारण चस्मा आवश्यक देखिएका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको हो । श्रमिकहरूको स्वास्थ्य संरक्षण र उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उपमहासचिव वलीले बताउनुभयो । श्रमिकहरूको स्वास्थ्यप्रति संगठनको जिम्मेवारी र प्रतिबद्धतालाई व्यवहारमा उतार्ने यस्ता खाले कार्यक्रमले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उहाले बताउनुभयो । संगठनले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।





