तुलसीपुर, ५ असार । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य, शिक्षा, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज शुक्रवार उपमहानगरपालिकाको १९ औँ नगर अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख टिकाराम खड्काले हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर, खुसी जनता, समृद्ध तुलसीपुर,भन्ने मूल नारासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। तुलसीपुर १२ हरिपौरा स्थित मेट्रो कलेजको सभाहलमा आयोजित बैठकमा उहाँले ४२ पृष्ठ लामो नीति तथा कार्यक्रमका ३४९ वटा बुँदा सभासमक्ष प्रस्तुत गर्नुभयो।
नगरप्रमुख खड्काले समृद्ध तुलसीपुर निर्माणको लक्ष्यसहित स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सडक पूर्वाधार, खानेपानी, सिँचाइ तथा विद्युत् विस्तारलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। नगरवासीको चाहना, भावना र नतिजामुखी विकासलाई केन्द्रमा राखेर महत्वाकांक्षी योजना अघि सारिएको उहाँको भनाइ छ।
उहाँका अनुसार आगामी वर्ष सडक, विद्युत् र खानेपानीको पहुँच नपुगेका क्षेत्रमा विशेष प्राथमिकताका साथ विकास कार्यक्रम सञ्चालन गरिनेछ। साथै नागरिकमैत्री, बालमैत्री, लैङ्गिकमैत्री र प्रविधिमैत्री नगर निर्माण गर्दै प्राविधिक शिक्षा तथा गुणस्तरीय सेवा प्रवाहलाई समेत विशेष जोड दिइएको छ।नीति तथा कार्यक्रममा तुलसीपुर क्षेत्रका गौरवका आयोजनाका रूपमा रहेका मेट्रो कलेज, तुलसीपुर भीमसेन मेट्रो कलेज, तुलसीपुर बहुउद्देश्यीय व्यापारिक भवन, औद्योगिक ग्राम तथा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको संरक्षण, व्यवस्थापन र सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ।
यस्तै, आवश्यकता अनुसार वडास्तरमै घुम्ती स्थानीय सरकार सेवा कार्यक्रम सञ्चालन गर्ने, ‘हेलो जनता’ कार्यक्रम लागू गर्ने तथा महिला, दलित, अपाङ्गता भएका व्यक्ति र द्वन्द्वपीडितले नयाँ व्यवसाय दर्ता गर्दा २५ प्रतिशत शुल्क छुट दिने व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ।त्यसैगरी ‘जनताको कर, जनतालाई खबर, अभियानमार्फत कर प्रणालीलाई करदातामैत्री बनाउने, स्मार्ट छोरी कार्यक्रमलाई परिमार्जित कार्यविधिसहित निरन्तरता दिने, एक वडा, एक गौरवको योजना कार्यान्वयन गर्ने तथा एकभन्दा बढी वडा समेट्ने योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ।
तुलसीपुर बजार क्षेत्र तथा संवेदनशील स्थानहरूमा सिसिटिभी प्रणाली विस्तार गर्ने, सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराउने, छिमेकी पालिका र निजी क्षेत्रसँगको सहकार्यमा अन्तरपालिका चक्रपथ निर्माण तथा विद्युतीय नगरबस सञ्चालनको अवधारणालाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ। आजको बैठकमा नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ। नगरसभाको अर्को बैठक आउदो सोमबार बस्नेछ । जसमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिने कार्यतालिका रहेको छ। साथै असार १० गते बजेट तथा कार्यक्रम स्वीकृत गर्ने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ।





