काठमाण्डौ, ४ असार । अमेरिका र इरानले युद्ध अन्त्यको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मशुद पेजिस्कियानले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । ट्रम्पले पहिलो विश्वयुद्धको अन्त्य गर्ने सन्धी भएको फ्रान्सको भर्साइल्स दरबारमा बसेर सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । उहा जी ७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन फ्रान्स जानुभएको थियो ।
पछि अमेरिकी अधिकारीहरूले पत्रकारहरूलाई सम्झौता पढेर सुनाएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। सम्झौतामा हस्ताक्षर भएसँगै तत्कालका लागि सैन्य गतिविधि रोक्ने, जलमार्ग खुलाउने, प्रतिबन्ध हटाउने र ६० दिनभित्र दीर्घकालीन सम्झौताका लागि वार्ता गर्ने खाका प्रस्तुत गरेको छ।
यस्ता छन् प्रारम्भिक समझदारी पत्रमा १४ वटा बुँदा
१. सबै मोर्चामा युद्ध अन्त्य गर्ने प्रतिबद्धता
२. आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
३.६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य
४.अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने
५. इरानले स्ट्रेट अफ हर्मुज खोल्ने
६. इरानका लागि ३०० अर्ब डलरको पुनर्निर्माण योजना
७. इरानमाथिका प्रतिबन्ध हटाउने
८. इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता
९.हालको अवस्था कायम राख्ने
१०. इरानी तेल निर्यात खुला गर्ने
११.रोकिएका इरानी सम्पत्ति प्रयोग गर्न दिने
१२.कार्यान्वयन निगरानी संयन्त्र बनाउने
१३. प्रारम्भिक कार्यान्वयनपछि मुख्य वार्ता सुरु हुने
१४.अन्तिम सम्झौतालाई राष्ट्रसंघीय सुरक्षा परिषदबाट अनुमोदन गर्ने
यो अन्तरिम सम्झौताले तत्काल युद्ध रोक्ने र तेल आपूर्ति तथा अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण स्ट्रेट अफ हर्मुज खोल्ने बाटो तयार गरे पनि इरानको आणविक कार्यक्रम, प्रतिबन्ध पूर्ण हटाउने प्रक्रिया र दीर्घकालीन सुरक्षा व्यवस्थासम्बन्धी मुख्य विवाद अझै आगामी वार्तामा टुंगो लगाउन बाँकी छन्।





