दाङ,२६ जेठ । दाङमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक लमही नगरपालिका–७ हस्नापुर निवासी ३८ वर्षीय जीवन गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार आज बिहान लमही नगरपालिका–५ रातोडाँडास्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.१२ प ९८४० नम्बरको मोटरसाइकल पार्किङ गरी राखिएको ना.५ ख ९३३६ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किदा दुर्घटना भएको थियो। मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३२ वर्षीय धनिराम चौधरी घाइते हुनु भएको छ। उहाँको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते मङ्गलवार






