काठमाण्डौ, १९ जेठ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणका लागि दिल्ली पुग्नुभएका रवि लामिछाने आजदेखि भेटघाट र अन्तरक्रिया थाल्नुहुने भएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएको हो । लामिछानेले भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नितिन नवीनसहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ ।
नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रास्वपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।गएको फागुन २१ मा भएको प्रतिनिधिसभा चुनावबाट झन्डै दुई तिहाइ सिट जितेर रास्वपाले सरकार बनाएको दुई महिनापछि सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो । अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेका बेला लामिछानेको यो भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
यसैबीच लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्त्वपूर्ण आधार भन्दै सीमा विवादजस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनुभएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा आज प्रकाशित उहाँको लेखमा ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने उल्लेख छ ।






