दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालु आर्थिक वर्षको वैशाख महिनाभित्र मुख तथा अनुहारसम्बन्धी १४४ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन्। प्रतिष्ठानका अनुसार वैशाख महिनामा दन्त विभागको ओपीडीमार्फत ८९२ जनाले दन्त उपचार सेवा लिएका छन्। तीमध्ये ४५३ जना नयाँ बिरामी रहेका छन्। दन्त विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा १३२ जनाले जरासहितको दाँत उपचार, ४८१ जनाले कृत्रिम अस्थायी तथा स्थायी दाँत सम्बन्धी सेवा, १५१ जनाले बाङ्गोटिङ्गो दाँत मिलाउने सेवा, २५१ जनाले दाँत सफा गर्ने तथा ३५१ बालबालिकाले दुधे दाँत सम्बन्धी उपचार सेवा प्राप्त गरेका छन्।
त्यस्तै मुख तथा अनुहार शल्यचिकित्साअन्तर्गत गम्भीर प्रकृतिका ५, सामान्य ६३ तथा दाँत निकाल्ने ७६ जनाले सेवा लिएका मुख तथा अनुहार शल्य चिकित्सक डा. निरोज खनालले जानकारी दिनुभयो ।प्रतिष्ठानले विगत एक वर्षदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा दन्त रोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि दन्त शिविर सञ्चालन गर्दै आएको जनाएको छ। यसैबीच प्रतिष्ठानमा अत्याधुनिक सीबीसीटी मेसिन सञ्चालनमा आएपछि दाँत तथा मुखसम्बन्धी रोगको परीक्षण र उपचार सेवा थप प्रभावकारी बनेको छ। स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त उक्त मेसिनले दाँतसहित मुखको सम्पूर्ण भागको थ्रीडी स्क्यान गर्न सक्ने क्षमता राख्छ।
प्रतिष्ठानका अनुसार पश्चिम नेपालका सरकारी अस्पतालमध्ये पहिलोपटक यस्तो प्रविधियुक्त सीबीसीटी मेसिन सञ्चालनमा आएको हो। यसअघि दाँत तथा मुखको विस्तृत सीटी स्क्यानका लागि बिरामीलाई जिल्ला बाहिर जानुपर्ने अवस्था रहेकामा अब सो सेवा दाङमै उपलब्ध भएको छ। नयाँ प्रविधिको प्रयोगले दाँत प्रत्यारोपण, जटिल शल्यक्रिया तथा मुखसम्बन्धी विभिन्न रोगको निदान र उपचारलाई थप सहज, छिटो र प्रभावकारी बनाएको प्रतिष्ठानले जनाएको छ।






