२०८३ जेष्ठ ८ गते शुक्रवार

त्रिवेणी गाउँपालिकाद्धारा विद्यालयमा ईसीडी किट बक्स वितरण

सल्यान ८ जेठ।  सल्यानको त्रिवेणी गाउँपालिकाले प्रारम्भिक बालविकास शिक्षालाई थप प्रभावकारी, व्यवहारिक र बालमैत्री बनाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले १३ वटा ईसीडी किट बक्स वितरण गर्दै बालबालिकाको सिकाइ वातावरणलाई अझ सशक्त बनाउने प्रयास गरेको हो।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का पुन, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर के.सी., वरिष्ठ शिक्षा अधिकृत गणेश प्रसाद आचार्य, शिक्षा अधिकृत टोप बहादुर नेपाली तथा समाज जागरण केन्द्र (स्याक) नेपाल का शिक्षा अधिकृत सर्वराज बि.क. लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो।

गाउँपालिकाका अनुसार गत वर्ष पनि स्याक नेपालको समन्वय तथा UNICEF नेपालको आर्थिक सहयोगमा १६ वटा ईसीडी किट बक्स वितरण गरिएको थियो। यस वर्षको वितरणपछि गाउँपालिकाभित्र सञ्चालित सबै २८ वटा प्रारम्भिक बालविकास केन्द्रमा ELDS Report Card सहित आवश्यक शैक्षिक सामग्रीको पहुँच पुगेको गाउपालिकाले जनाएको छ।

त्यसैगरी, ६ वटा सिकाइ कर्नर व्यवस्थापन गरी प्रारम्भिक बालविकास शिक्षा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको गाउँपालिकाले जानकारी दिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरूले बालबालिकाको प्रारम्भिक सिकाइ चरणलाई गुणस्तरीय बनाउने उद्देश्यसहित सञ्चालन गरिएको शैक्षिक तथा खेलकुद सामग्री मार्फत सिकाइ, सिर्जनशीलता विकास तथा बालमैत्री शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया