काठमाडौ, ५ चैत । इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग खुला गरेको जनाएको छ । तर जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ ।विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्ध विरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ ।
इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ ।अमेरिका र इरान बीचको युद्ध विराम यही अप्रिल २२ तारिख अर्थात् आउँदो बुधबार सकिंदैछ । अमेरिका र इजरायलले तीन महिनाअघि इरानमा आक्रमण गरेदेखि तेल ढुवानी मार्ग पनि प्रभावित हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ ।
तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ ।हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो । यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको सहमति भए पछि आएको हो ।
इरान समर्थित हिज्बुल्लाहले पनि युद्ध विराम सम्झौता पालना गर्ने जनाएको छ । युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्वका शीर्ष नेताहरूले सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी भएको छ ।












