तुलसीपुर, २० फागुन । दाङको तुलसीपुरमा निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूका लागि निर्वाचन रिपोर्टिङ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा तुल्सीपुर क्षेत्रका क्रियाशील पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा पत्रकारलाई मतदानको दिन रिपोर्टिङ गर्दा अपनाउनुपर्ने सावधानी, आचारसंहिता, संवेदनशील विषयको प्रस्तुतिकरण, तथ्यपरक र छिटो समाचार सम्प्रेषण गर्ने विधि, सामाजिक सञ्जाल र लाइभ रिपोर्टिङका चुनौती, अफवाह व्यवस्थापन तथा मतगणना अवधिको रिपोर्टिङ सम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ का केन्द्रीय पूर्वअध्यक्ष विपुल पोखरेलले पत्रकारहरूले निर्वाचनजस्तो संवेदनशील समयमा अझ बढी जिम्मेवार, संयमित र सत्यतथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आचारसंहिताको परिधिभित्र रहेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै हल्ला र अपुष्ट सूचनाको पछि लागेर समाचार प्रकाशन वा प्रसारण गर्दा सामाजिक द्वन्द्व उत्पन्न हुन सक्ने चेतावनी दिनुभयो ।
पोखरेलले लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै निष्पक्ष, सन्तुलित र विश्वसनीय रिपोर्टिङमार्फत निर्वाचनलाई शान्तिपूर्ण र पारदर्शी बनाउन सहयोग गर्न पत्रकारहरूलाई आह्वान गर्नुभयो ।
यसैबीच, नेपाल पत्रकार महासंघ दाङ शाखा का अध्यक्ष सन्तोष सुवेदीले मतदानको दिन पत्रकारहरूको आवतजावतलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी प्रेस पास उपलब्ध गराइएको जानकारी दिए। उनले सो पास अनिवार्य रूपमा साथमा राखी जिम्मेवार ढंगले रिपोर्टिङ गर्न आग्रह गरे। साथै सूचना तथा प्रसारण विभागबाट जारी ‘रातो कार्ड’ भएका पत्रकारहरूलाई छुट्टै सवारी पास आवश्यक नपर्ने पनि स्पष्ट पारिएको छ । कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले मतदान तथा मतगणनाका क्रममा पत्रकारहरूका लागि विशेष स्थान व्यवस्थापन गरिएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन निर्वाचन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाले निर्धारित समयअनुसार आधिकारिक सूचना अद्यावधिक गरिने भएकाले पुष्टि भएका तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सञ्चार क्षेत्र र सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा का उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गर्नुभएको थियो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।