२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुर–घोराही चल्ने बसमा पनी निगरानी बढाउदै ट्राफिक प्रहरी, फोकस लाइट हटाइयो

 तुलसीपुर, २२ माघ । दाङको तुलसीपुर–घोराही सडकखण्डमा सञ्चालन हुने बसमा अनावश्यक रुपमा जडान गरिएका फोकस लाइट हटाइएको छ । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सई तिर्थराज भुसालको नेतृत्वमा नगरप्रहरीसहितको टोलीले आज तुलसीपुर–घोराही तथा तुलसीपुर–सल्यान सडकखण्डमा चल्ने बसलगायतका सवारीसाधनमा जडान गरिएका फोकस लाइट फुकालेको हो । बसमा पहिले नै आवश्यक लाइटको व्यवस्था हुने भएकाले पछि थपिएका फोकस लाइटका तेज किरणले विपरीत दिशाबाट आउने सवारीलाई असर गर्ने र दुर्घटनाको जोखिम बढाउने भन्दै उक्त लाइट हटाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तुलसीपुरको ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै सई भुसालले अटोमा जडान गरिएका अनावश्यक लाइट फुकाल्नुका साथै परिमार्जन (मोडिफाइ) गरिएका तथा ट्राफिक नियम उल्लंघन गर्ने अटोलाई नियन्त्रणमा लिनुभएको थियो । सोही अभियानअन्तर्गत आजदेखि बसमा पनि यो नियम लागू गरिएको हो । सामान्य ट्राफिक नियमको पालना नगर्दा दुर्घटनामा परी ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउने भएकाले बेलैमा सचेत हुन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । आज मात्रै करिब १० वटा बसमा जडान गरिएका फोकस लाइट निकालिएको र केहीलाई तत्काल हटाउन निर्देशन दिइएको ट्राफिक प्रमुख भुसालले जानकारी दिनुभयो ।

यसैगरी हाइसहरुमा जडान गरिएका थप सिट पनी निकालिएको छ । बस चालक तथा सहचालकलाई पहिलोपटक सम्झाइ सचेत गराइएको भन्दै उहाँले अर्को पटक पनि गल्ती दोहोरिए कारबाही गरिने चेतावनी दिनुभएको छ । यात्रुले पनि आफ्नो अधिकारप्रति सचेत हुनुपर्ने उहाँको भनाइ छ । बसमा आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भन्दै सोहीअनुसार यात्रुलाई सुविधा दिन चालक तथा स्टाफलाई निर्देशन दिइएको छ । बसले तोकिएको भन्दा बढी भाडा लिने, दुव्र्यवहार गर्ने, आरक्षण सिटको व्यवस्था नगर्ने, मापसे गरी सवारी चलाउने वा तीव्र गतिमा चलाउनेजस्ता गतिविधि देखिएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाई यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको भन्दै सबैलाई नियम पालनामा सहयोग गर्न पनि उहाँले अपिल गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया