तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले खानेपानी तथा सरसफाइ सेवा प्रवाहलाई थप व्यवस्थीत गर्ने सवालमा छलफल सुरु गरेको छ । खानेपानी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी ऐन, २०८०को आधारमा गठन गरिएको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले नगर क्षेत्रमा संचालित खानेपानी योजनाहरूको संरक्षण, अनुगमन तथा उपभोक्तालाई प्रभावकारी सेवा दिने विषयमा गहन छलफल गरेको हो ।
पालिकाले खानेपानी ऐन बनाएपछि नगर क्षेत्रमा संचालित खानेपानी आयोजको संरक्षण, व्यवस्थापन, अनुगमण र नियमन गर्ने बाटो खुल्ला भएको हो । यसलाई आधार मानेर बोर्डले जलस्रोत ऐन दर्ता भएका खानेपानी उपभोक्ता समिति तथा संस्थालाई सूचिकृत र नयाँलाई दर्ताका लागि आब्हान गरेको बोर्डका सदस्य तथा राष्ट्रिय शहरी खानेपानी तथा उपभोक्ता सरसफाइ महासंघका अध्यक्ष खेमराज वलीले बताउनुभयो ।
नगर प्रमुख टिकाराम खडकाको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन, खानेपानी सम्बन्धी निर्माण भएका कानून कार्यान्वयनको अवस्था, उपभोक्ता समितिको काम, कर्तव्य, अधिकार र दायित्वका विविधि पक्षमा छलफल गरिएको छ ।
स्थानीय तहको अधिकार सूचि अन्तर्गत जलाधार क्षेत्र पर्ने भएकाले पालिकाले खानेपानी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी ऐन, २०८० बनाएर कार्यान्वयनको चरणमा अग्रसरता लिन थालेको हो । स्थानीय पालिकामा उद्देश्य विपरित संचालन हुने उपभोक्ता समितिलाई विघटन र खारेज गर्न सक्ने अधिकार रहेको छ ।
योसंगै अब खानेपानी आयोजनाको दर्ता, विधान संशोसधन लगायतका कामहरु पालिकामा हुने भएको तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारीले बताउनुभयो । बैठकमा खानेपानी बोर्डका पदाधिकारी, नगर क्षेत्रमा संचालनमा रहेका खानेपानी अयोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।