तुलसीपुर, १४ पौष । दाङको तुलसीपुर उप–महानगरपालिकाले खेलक्षेत्रलाई बेवास्ता गरेको खेलाडीहरुले गुनासो गरेका छन् । नगरपालिकाले मेयरकपसमेत आयोजना नगर्दा खेलाडीहरुले खेल देखाउन नपाएको तुलसीपुर–६ का फुटवल खेलाडी हरि बुढामगरले बताउनुभयो । फुटवल खेल्न थालेको ६ बर्ष भन्दा धेरै भएपनि अहिलेसम्म २ पटक मात्रै मेयरकपमा सहभागी भएको उहाँले बताउनुभयो । नगरपालिकाले खेलखुद क्षेत्रलाई बेवास्ता गर्दा खेलाडीहरु मर्कामा परिरहेको उहाँको भनाई छ । तुलसीपुर–९ का किरणनाथ योगीले पनि फुटवल खेल्न थालेको ८ बर्ष भन्दा धेरै भइसकेको छ । दैनिक रुपमा ट्रेनिङ गर्दै आएपनि मेयरकप नहुदा मेहनत अनुसारको प्रतिफल हासिल गर्न नसकेको उहाँले बताउनुभयो ।
तुलसीपुरमा लामो समयदेखी मेयरकप नहुदा उहाँहरु जस्ता धेरै खेलाडीहरुले आफ्नो क्षेमता प्रदद्र्धन गर्न पाएका छैनन् । यसले गर्दा तुलसीपुरमा खेलाडी उत्पादन हुन नसकेको तुलसीपुर–५ का अर्का फुटवल खेलाडी सन्दिप गौतमले बताउनुभयो । मेयरकप नहुदा खेलाडीहरु वडाभन्दा माथि आउन नसकेको भन्दै उहाँले तुलसीपुरमा प्रत्यक बर्ष मेयरकप आयोजना गर्नुपर्ने बताउनुभयो । नजिकैको छिमेकी पालिका घोराहीमा प्रत्यक बर्ष मेयरकप हुदा तुलसीपुरले कुनै चासो नदिएको उहाँले बताउनुभयो । तुलसीपुरमा ७ बर्षमा २ पटक मात्रै मुस्किलले मेयरकप भएको भन्दै उहाँले नगरप्रमुखले खेलको महत्व नबुझ्दा समस्या भएको बताउनुभयो ।
पढाई मात्रै हुन्छ तर, परिक्षा हुदैन : प्रशिक्षक गिरी
यता फुटवल खेलका प्रशिक्षक पृति बहादुर गिरी (प्रेस) ले तुलसीपुर उप–महानगरपालिकाले मेयरकपको आयोजना नगर्दा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नपाएको बताउनुभयो । यसले गर्दा विद्यार्थीहरु पढ्न जाने तर परिक्षा नहुने जस्तै भएको भन्दै उहाँले मेयरकप भइदिए खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्ने मौका पाउने बताउनुभयो । तुलसीपुरको स्थानिय सरकारले खेलका बारेमा नबुझ्दा खेलाडीहरु पलायन भइरहेको उहाँले बताउनुभयो । खेलाडीहरुमा खेलप्रति रुची घट्ने र पलायन हुने अवस्था सृजना भइरहेको भन्दै उहाँले् नगरपालिका खेलप्रति गम्भिर बन्नुपर्ने बताउनुभयो ।
मेयरसापले बजेट नछुट्याउदा मेयरकप हुन सकेन : चक्र भण्डारी
यता तुलसीपुर उप–महानगरपालिका शिक्षा, युवा तथा खेलखुद शाखा प्रमुख चक्र भण्डारीले मेयरकपका लागी नगरपालिकाले बजेट विनियोजन नगरेकाले आफुले आयोजना गर्न नसकेको बताउनुभएको छ । निति नियम बनाउने काम जनप्रतिनिधिहरुको भएको र कार्यान्वयन गर्ने काम आफुहरुको भएको भन्दै उहाँले नगरप्रमुखले मेयरकपको लागी भनेर बजेट विनियोजन गरेको भए मेयर आयोजना गर्न आफु तयार रहेको बताउनुभयो । तर, बजेट नहुदा आफुले आयोजना गर्न नसकेको उहाँको भनाई छ ।
यता तुलसीपुर उप–महानगरपालिकाका मेयर टिकाराम खड्काले भने यो बिषयमा कुनै प्रतिकृया दिन चाहनुभएन । उहाँलाई ९८५७८२२१४० मा दुईदिनसम्म लगातार सम्पर्क गर्न खोजेपनि उहाँ सम्पर्कमै आउन चाहनु भएन ।।





