सल्यान, १८ असार । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर २ गर्पा क्षेत्रका घर घरमा धारा पुगे पछि नागरिकहरूमा खुसियाली छाएको छ । लिफ्टीङ प्रविधि मार्फत ११ सय ४० मिटर तल अँधेरी खोला र सेतो पहिराको पानी घर घरमा पुगे पछि स्थानीयहरुमा खुसियाली छाएको हो ।
यस अघि भालेको डाकोसँगै बिहानै उठेर दुई घन्टाको ओरालो झरेर खोलाको पानी लिन जाने बाध्यता रहेकोमा घर घरमा धारा आउँदा खुसी भएको स्थानीयहरुको भनाई छ । स्थानीय ओम बहादुर बुढाको भनाई अनुसार ‘विशेष गरेर यस क्षेत्रका महिलाहरूको दैनिकी खानेपानीको आपूर्ति गर्नलाई डोकोमा गाग्री बोकेरै बित्ने गर्दथ्यो ।’ अब घर घरमा धारा आए पछि डोकोमा गाग्री बोक्नु पर्ने बाध्यता सदाका लागि अन्त्य हुनेमा पूर्ण विश्वस्त रहेका छौं ।
नेपाल सरकारको विशेष अनुदान अन्तर्गत ३ करोड लागतमा कपुरकोट गाउँपालिकाले सेतो पहिरा र अँधेरीखोलाको पानी विद्युत र साेलामार मार्फत गर्पा क्षेत्रमा पुर्याएकाे प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।
ढनठना, गर्पा, गोठिबन वृहत खानेपानी आयोजनाको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खानेपानीलाई उत्पादन र आम्दानीसँग जोड्नु पर्ने बताउनु भयो । ‘हामीले पानीलाई पिउनका लागि मात्र प्रयोग गर्ने गर्छौ । अब खानेपानीलाई आयआर्जनका लागि पनि प्रयोग गर्नु पर्दछ ।’ उहाँले भन्नु भयोः‘कपुरकोट क्षेत्र बेमौसमी तरकारीका लागि पकेट क्षेत्र हो खाएर बचेको पानीलाई तरकारीको सिँचाइका लागि पनि सदुपयोग गर्न सकिन्छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले. गर्पा क्षेत्रका नागरिकहरुले वर्षौँदेखि खानेपानीको अभावमा दैनिकी गुजार्दै आएको अवस्थाको अन्त्य भएको बताउनु भयो । ‘नागरिकहरूको खानेपानीको समस्याको समाधान गर्नु गाउँपालिकाको कर्तव्य हो । सम्पन्न खानेपानी आयोजनालाई दिगो राख्नलाई नागरिकहरू नै जिम्मेवार हुनु पर्दछ ।’उहाँले भन्नुभयोः‘अब खानेपानी आयोजनाबाट लाभान्वित समुदायले यसको मर्मत सम्भारका लागि कोष स्थापना गर्नु पर्छ ।
जलजला जनचाहना निर्माण सेवाले ठेक्का प्रक्रिया मार्फत सम्पन्न गरेको खाने पानी आयोजनाबाट गर्पा क्षेत्रका ढनठना, गोठीबन र काउलेपानीका गरेर २ सय ५ घरमा धारा जडान गरिएको वडा नम्बर २ का वडा अध्यक्ष ईश्वर बुढाले जानकारी दिनु भयो ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।