काठमाण्डौ, ७ बैशाख । जल मौसम पूर्वानुमान महाशाखाले अबका केही दिन मधेश तथा तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर अबको ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने भन्दै सतर्क रहन आग्रह गरेको हो । अबका ३ दिनसम्म कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
ती क्षेत्रमा पनि आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ । देशभर गर्मी बढ्दै गएको छ । तराई तथा मधेश क्षेत्रमा यसको प्रभाव थप बढेको छ । महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव छ । केही ठाउँमा पानी पर्ने सम्भावना भए पनि धेरै ठाउँमा गर्मी हुने भएकाले प्रशस्त मात्रामा पानी पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न र लामो समयसम्म घाममा काम गर्नुपरेमा बीचरबीचमा आराम गर्न महाशाखाले आग्रह गरेको छ ।।


















