देउखुरी, ७ वैशाख — दाङको गढवा गाउँपालिका–१ बनघुस्री निवासी मधुसुदन केसीले आफ्नो निजी स्वामित्वको जग्गालाई सार्वजनिक जग्गा भनी भ्रम फैलाइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।सोमबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा केसीले आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्रीले फेसबुकमार्फत झुटा र भ्रामक सूचना फैलाएको, आफ्नो चरित्र हत्या गरेको तथा शारीरिक आक्रमणसमेत गरेको आरोप लगाए। उनका अनुसार २०८२ चैत २५ गते भण्डारीले सामाजिक सञ्जालमार्फत साविक पत्रिंगा–६ ग कि.नं. २७ को जग्गा सार्वजनिक भएको भन्दै गलत सूचना प्रसारण गरेका थिए, जबकि उक्त जग्गा निजी स्वामित्वको रहेको केसीको दाबी छ।
केसीका अनुसार सो क्षेत्रको कि.नं. ८८ अशोक कुमार यादवको नाममा दर्ता रहेको छ भने सोसँग जोडिएको कि.नं. २७ मा उनले के.सी. बहुउद्देश्यीय फर्ममार्फत टनेल निर्माण गरी तरकारी खेती गर्दै आएका थिए। तर २०८२ असार २२ गते भण्डारी क्षेत्रीले खेतमा काम गरिरहेका उनका परिवारका सदस्यलाई गालीगलौज, दुर्व्यवहार गर्दै टनेलमा तोडफोड गरेको तथा जग्गा हडप्न खोजेको आरोप उनले लगाए।


















