

लमही । सेवाग्राहीलाई सहज र झन्झटमुक्त सेवा दिने उद्देश्यका साथ लमही नगरपालिकाले राजश्व संकलन प्रणालीमा ठूलो सुधारको कदम चालेको छ। अब नगरपालिकाले आधुनिक ‘सूत्र’ प्रणालीमार्फत राजश्व सेवा प्रवाह सुरु गर्ने तयारी गरेको छ, जसले सेवा प्रक्रियालाई छिटो, सरल र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
यस अभियानअन्तर्गत नगरपालिकाले राजश्व शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विशेष तालिम प्रदान गर्दै उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिएको छ। “लमही नगर निर्माण, महाअभियान” अन्तर्गत सञ्चालन गरिएको यो पहलले राजश्व संकलनलाई व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिनुभयो।
उहाँका अनुसार ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ लागू भएपछि राजश्व संकलन प्रक्रिया थप प्रभावकारी हुने मात्र होइन, आर्थिक पारदर्शिता समेत मजबुत हुनेछ।
नयाँ प्रणालीसँगै नगरपालिकाले डिजिटल भुक्तानीलाई पनि प्राथमिकता दिएको छ। अब सेवाग्राहीले क्यूआर कोडमार्फत सजिलै कर तिर्न सक्ने व्यवस्था गरिनेछ। नगद अभावका कारण भोग्नुपरेका समस्या हटाउने र सुरक्षित भुक्तानी सुनिश्चित गर्ने यो कदमलाई नागरिकमैत्री सुधारका रूपमा हेरिएको छ।
नगर प्रमुख जोगराज चौधरीले नगरपालिकालाई “सेवाग्राहीको साझा घर” को रूपमा व्याख्या गर्दै सेवा प्रवाहलाई अझ चुस्त, छरितो र जनमैत्री बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो सेवा सेवाग्राहीको आवश्यकताअनुसार हुनुपर्छ, त्यसैले हामी राजश्व प्रणालीलाई सरल र सहज बनाउँदैछौं।”
सूत्र प्रणालीले कर संकलनदेखि अभिलेख व्यवस्थापन, प्रतिवेदन तयारी र समग्र आर्थिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने प्रशिक्षक तथा सूचना प्रविधि अधिकृत रविन रेग्मीले बताउनुभयो। उहाँका अनुसार यसले स्थानीय तहको राजश्व व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउनेछ।


