काठमाण्डौं,२० फागुन ।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसदहरुको आज शपथ ग्रहण हुने भएको छ । प्रतिनिधिसभाको चुनाव भएको २ महिनापछि आज शपथ ग्रहण हुन लागेको हो । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद र राष्ट्रियसभाका जेष्ठ सदस्यले राष्ट्रपतिबाट पहिले शपथ ग्रहण गरेर अरु सदस्यलाई शपथ गराउने कार्यतालिका रहेको छ । प्रतिनिधि र राष्ट्रियसभाका सांसदले सपथका लागि ८ भाषा रोजेका छन् । ३८ जना सांसदले मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ । दिउँसो १ बजे राष्ट्रपतिले संसदका जेष्ठ सदस्यलाई शीतल निवासमा शपथ गराउने र साँझ ५ बजे जेष्ठ सदस्यले बाँकी सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे राष्ट्रियसभाका ५६ सांसदले ज्येष्ठ सदस्य तारादेवी भट्टबाट शपथ लिनेछन् । राष्ट्रियसभामा मन्त्रिपरिषद्बाट सिफारिस भएका तीन सदस्यको शपथ भने पछि हुने भएको छ । सर्वोच्चको आदेशका कारण उनीहरूको शपथ तत्काल रोकिएको हो । आजै दिउँसो अदालतबाट अर्को फैसला आयो भने आजै हुनसक्नेछ । आज सपथ सकिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको छुट्टाछुट्टै बैठक भोलिबाट सुरु हुनेछ ।